काठमाडौं उपत्यकामा आगामी मंसिर १ गतेदेखि पशु वधशाला र मासु जाँच ऐन २०५५ पूर्ण रूपमा लागू हुने भएको छ। उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले सरकारले उक्त ऐन कार्यान्वयनमा ल्याउन लागेको हो।
यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाभित्र सञ्चालनमा रहेका सबै मासु पसल, पशु वधस्थल र वधशालालाई तोकिएको मापदण्ड पूरा गरेर सञ्चालन अनुमति लिन निर्देशन दिएको छ। प्रशासनले मासु व्यवसाय र वधशाला सञ्चालन गरिरहेका सबै सरोकारवालालाई सम्बन्धित निकायबाट अनिवार्य अनुमति लिएर मात्र व्यवसाय चलाउन सूचित गरेको छ।
ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा उक्त ऐन लागू गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न यो कदम चालिएको बताए। उनका अनुसार मापदण्ड पूरा नगरी वा अनुमतिबिना व्यवसाय सञ्चालन गर्न पाइने छैन।
सरकारले मंसिर १ पछि मापदण्डविपरीत वा अनुमतिविना सञ्चालन भएका व्यवसायमाथि कानुनी कारबाही गर्ने जनाएको छ। नयाँ व्यवस्था र मापदण्डका विषयमा थप जानकारी आवश्यक परे लगनखेलस्थित पशु सेवा कार्यालयमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।
