काठमाडौँ । नेपाल प्रिमियर लिगमा काठमाडौँ गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले सुरुवाती ओभरमा विकेट गुमाउनु नै हारको मुख्य कारण भएको बताएका छन् । शनिबार खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले ब्याटिङका लागि राम्रो पिच भए पनि पावरप्लेमै लगातार विकेट झरेपछि लक्ष्य पछ्याउन नसकिएको बताए ।
रोहितका अनुसार १६० रनको लक्ष्य सजिलै भेट्टाउन सकिन्थ्यो, तर सुरुमै पाँच–छ विकेट गुमाउँदा टोली खेलमा फर्कन सकेन । ‘पिच ब्याटिङका लागि निकै राम्रो थियो । १६० रनको लक्ष्य सजिलै भेट्टाउन सकिन्थ्यो । तर पावरप्लेमै हाम्रो ब्याटिङ बिग्रियो । यसमा कुनै एक खेलाडीलाई मात्र दोष दिन मिल्दैन । टिमकै ब्याटिङ राम्रो हुन सकेन,’ उनले भने ।
कप्तान पौडेलले हार र जित खेलको स्वाभाविक अंश भएको बताउँदै बाँकी दुई खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको जानकारी दिए । बाँकी खेल जित्न सके प्लेअफसँगै शीर्ष दुईमा पुग्ने सम्भावना कायम रहने उनको भनाइ छ ।
उनले ब्याटिङसँगै बलिङमा पनि सुरुवाती १० ओभरमा राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार गरे । काठमाडौँका अनुभवी ब्याटर डेभिड वार्नरले आफ्नो अनुभव देखाउँदै राम्रो ब्याटिङ गरेको उनले बताए । किशोर महतो घाइते भएपछि टोलीमा दुई खेलाडी परिवर्तन गर्नुपरेको र त्यसले टोलीको सन्तुलनमा केही असर परेको उनको भनाइ थियो ।
१८औँ ओभरमा रुबेन ट्रम्पलम्यानको सट्टा बेन कटिङलाई बलिङ दिनुको कारणबारे पनि उनले स्पष्ट पारे । क्रिजमा दुई जना बायाँहाते ब्याटर रहेकाले स्लोअर बल प्रभावकारी हुने सोचेर उक्त निर्णय लिएको भए पनि त्यसले अपेक्षित नतिजा दिन नसकेको उनको भनाइ थियो ।
पराजयका बाबजुद रोहितले बिवेक जोरा र अभिषेक गौतमको प्रदर्शनलाई सकारात्मक रूपमा लिएका छन् । सुरुमै धेरै विकेट गुमाउँदा टोलीको स्कोर ६०–७० रनमा सीमित हुने अवस्था रहे पनि जोराले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै टोलीलाई १२४ रनसम्म पुर्याएको उनले बताए । ‘बिवेक जोराले परिपक्व ब्याटिङ गरे । उनले टोलीलाई १२४ रनसम्म पुर्याउन मद्दत गरे । यसले हाम्रो नेट रनरेटमा पनि पछि सहयोग गर्न सक्छ,’ उनले भने । जोरालाई ब्याटिङ क्रम परिवर्तन गरेर खेलाउनुको कारणबारे उनले टोलीको आवश्यकता र खेलको अवस्थाअनुसार निर्णय लिइएको बताए । ब्याटिङमा बायाँ र दायाँहाते खेलाडीको संयोजन मिलाउन उनलाई उक्त क्रममा पठाइएको उनको भनाइ थियो ।
