काठमाडौं । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले १४ किलो गाँजासहित दुई जना महिलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई विमानस्थल परिसरमै पक्राउ गरेको हो ।
नियन्त्रणमा लिइएका महिलाहरू भारतीय नागरिक हुन् । उनीहरू ४६ वर्षीय शबाना बानु यार महम्मद शेख र ३५ वर्षीय शरिफ अब्बास अन्सारी रहेको ब्यूरोले जनाएको छ । उनीहरूको साथबाट बरामद भएको गाँजा थाइल्यान्डमा उत्पादन भएको प्रकारको रहेको प्रहरीको भनाइ छ ।
ब्यूरोका अनुसार उनीहरू थाइल्यान्डबाट मलेसिया हुँदै बाटिक एयरको उडानबाट काठमाडौं आएका थिए । उडान नम्बर ओडी–१८२ बाट आएका उनीहरूको गतिविधि शंकास्पद देखिएपछि ब्यूरोको टोलीले विस्तृत जाँच गरेको थियो । जाँचका क्रममा उनीहरूको सामानबाट १४ किलो गाँजा फेला परेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक सुबास बोहराका अनुसार पक्राउ परेका महिलाहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीहरूले गाँजा काठमाडौं ल्याउनुको कारण र यसमा अरू कोही संलग्न छन् वा छैनन् भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
