काठमाडौंको नयाँ बानेश्वरमा सामुदायिक कुकुरको हितका लागि तीन महिने अभियान सुरु भएको छ। गोल्याण फाउन्डेसनले शनिबार काठमाडौं महानगरपालिका–१० को छक्कुबक्कु टोलबाट अभियानको थालनी गरेको हो। कुकुर तिहारमा एक दिन गरिने पूजा र सम्मानलाई वर्षभरि निरन्तरता दिने उद्देश्यसहित अभियान अघि बढाइएको फाउन्डेसनले जनाएको छ।
अभियानका क्रममा क्षेत्रभित्रका सामुदायिक कुकुरलाई दैनिक पौष्टिक खाना खुवाइनेछ। रेबिज, डिस्टेम्पर र क्यानाइन कोरोना भाइरसविरुद्ध खोप लगाइनुका साथै नियमित स्वास्थ्य परीक्षण पनि गरिनेछ। जुकालगायतका रोग पहिचान गरी उपचार गर्ने व्यवस्था मिलाइएको छ।
खोप लगाइएका र अभियानमा समेटिएका कुकुरलाई चम्किने खालको कलर लगाइदिइनेछ। रातिको समयमा पनि कुकुर सजिलै देखिने भएकाले सडक दुर्घटनाको जोखिम घट्ने विश्वास गरिएको छ। कलरका आधारमा कुकुरको संख्या गणना, खाना र खोपको व्यवस्थापन तथा सुरक्षा निगरानीमा सहज हुने फाउन्डेसनको भनाइ छ।
अभियानमा काठमाडौं महानगरपालिका र वडा नं. १० कार्यालयसँग समन्वय गरिएको छ। फाउन्डेसनका स्वयंसेवकले तोकिएको क्षेत्रका कुकुरलाई दैनिक एक छाक भात–मासुसहितको खाना दिनेछन् भने भेटेरिनरी टोलीले स्वास्थ्य परीक्षण र खोपको काम गर्नेछ।
तीन महिने पाइलट परियोजनाबाट कुकुरको वास्तविक संख्या, स्वास्थ्य अवस्था, व्यवस्थापनमा लाग्ने खर्च र स्थानीय सहकार्यको प्रभावकारिताबारे तथ्याङ्क संकलन गरिनेछ। उक्त तथ्याङ्कका आधारमा भविष्यमा यस्ता अभियानलाई दिगो र वैज्ञानिक ढाँचामा अघि बढाउने योजना रहेको फाउन्डेसनले जनाएको छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले कुकुरप्रतिको सम्मानमा मानवीयता झल्किएको बताइन्। गोल्याण ग्रुप तथा फाउन्डेसनका अध्यक्ष अक्षय गोल्याणले कुकुरको पूजा गर्ने परम्पराको सम्मान वर्षभरि नै गर्नुपर्ने बताए। फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेले कुकुरलाई माया गर्नैपर्छ भन्ने नभए पनि ढुंगा नहान्न, दुर्व्यवहार नगर्न र खुवाउने स्वयंसेवकलाई अवरोध नगर्न समुदायसँग आग्रह गरिन्।
