बझाङ — बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको भिरबाट लडेर मृत्यु भएको छ। शुक्रबार दिउँसो गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न गएका ५० वर्षीय जोशी भिरबाट चिप्लिएर तलको चट्टानमा बजारिएका थिए।दुर्घटनामा गम्भीर घाइते भएका जोशीलाई उद्धार गर्ने तयारी गर्दागर्दै उनको निधन भयो। आफन्त रामचन्द्र जोशीका अनुसार उनलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिएको थियो, तर हेलिकोप्टर उड्नुभन्दा अघि नै जोशीले प्राण त्यागे।जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइते जोशीको उद्धारका लागि आवश्यक पहल भइरहेको थियो। भिरबाट लडेर चट्टानमा बजारिएपछि जोशीको कानबाट रगत बगिरहेको आफन्त रामचन्द्र जोशीले बताए।टंक जोशी २०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी लगातार दुई कार्यकालसम्म वडाध्यक्षको जिम्मेवारीमा रहेका थिए। जोशीका श्रीमती, दुई छोरा र एक छोरी छन्।
खर काट्न गएका बुंगलका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
