खोटाङ । खोटाङका दुई सामुदायिक वन क्षेत्रमा सालका रूख अवैध रूपमा ढालेर कटान गरेको भेटिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वन र सोही नगरपालिकाको वडा नं. ५ लफ्याङस्थित देउले सामुदायिक वन क्षेत्रमा करिब ३० वटा सालका रूख काटेको भेटिएको छ । खाल्ले र लफ्याङका वन क्षेत्रमा गरी करिब १०० वटा सालका रूख ढालेर काठ कटान गरी निकासी गर्ने तयारीमा पत्ता लागेको हो ।
चन्द्रमान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एकराज पौडेलले सामुदायिक वन क्षेत्रमा सालका रूख कटान गरेर ढालेको पाइएको जानकारी दिए । उनले भने, कसले र कुन प्रयोजनका लागि कटान गरेको हो भन्ने अझै खुल्न सकेको छैन । कटान गरिएका गोलिया रूखहरू वन क्षेत्रमै अलपत्र अवस्थामा छन् ।
सालका रूख अवैध रूपमा ढाल्नमा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी उनीहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने अध्यक्ष पौडेलले जानकारी दिए । घटनाको वास्तविकता पत्ता लगाउन समितिले पाँच सदस्यीय अनुगमन समितिसमेत गठन गरेको छ ।
सामुदायिक वन क्षेत्रमा यसरी ठूलो सङ्ख्यामा रूख काटिँदा समेत सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन तथा नियमन हुन नसकेको स्थानीय गोपाल श्रेष्ठले बताए ।
सव–डिभिजन वन कार्यालय दिक्तेलका वन अधिकृत सरोज घिमिरेले स्थलगत अनुगमन गरी क्षतिको यकिन विवरण संकलन गरिने र संलग्न व्यक्तिको पहिचान गरी प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने बताएका छन् । वाइछा दोभान क्षेत्रमा निजी जग्गा र सामुदायिक वनको सिमाना यकिन हुन नसकेकाले नापी टोलीको सहयोगमा जग्गाको सिमाना छुट्याइने उनले जानकारी दिए ।
स्थानीयवासीले काठ तस्करीको उद्देश्यले रुख ढालिएको हुन सक्ने आशंका गरेका छन् । साल संरक्षित वन पैदावारअन्तर्गत पर्छ र वन ऐन, २०७६ अन्तर्गत यसको अवैध कटान गम्भीर अपराध मानिन्छ ।
