काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजबीच सोमबार काठमाडौंमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्र र संस्थागत विकासको अभ्यासको प्रशंसा गर्दै नेपालले पनि लोकतन्त्रलाई बलियो बनाउन र स्थानीय तहसम्म लोकतान्त्रिक संस्थालाई सशक्त बनाउने प्रयास गरिरहेको बताए ।
गत अगस्टमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि स्विट्जरल्यान्डका राष्ट्रपति गाई पार्मेलिन, राष्ट्रिय परिषद्का अध्यक्ष पेज र स्वीस सङ्घीय परराष्ट्र विभागले नेपाल सरकार र नेपाली जनताप्रति व्यक्त गरेको समवेदनाप्रति सभामुख अर्यालले आभार व्यक्त गरे ।
विपद्को बेला स्विट्जरल्यान्डले दिएको ऐक्यबद्धता, मानवीय सहायता, कन्सुलर सहयोग तथा खोज र उद्धारसम्बन्धी सहयोगको उनले उच्च प्रशंसा गरे । मानवीय राहत र उद्धार प्रयासमा सहयोग पुर्याउन संयुक्त राष्ट्रसङ्घमार्फत स्विस सरकारले उपलब्ध गराएको २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायताका लागि उनले धन्यवाद दिए ।
नेपाल स्विस विकास सहकार्यका प्राथमिकता प्राप्त देशमध्ये एक रहेको उल्लेख गर्दै सभामुख अर्यालले स्विस विकास सहकार्यले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए । आगामी दिनमा नेपालसँगको विकास सहकार्यको दायरा अझ विस्तार हुने विश्वास उनले व्यक्त गरे ।
सभामुख अर्यालले हालै गठित आठ सदस्यीय नेपाल–स्विस संसदीय मैत्री समूहमार्फत दुई देशबीचको संसदीय सम्बन्ध, सहयोग र अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताए ।
स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजले नेपालको विकासका लागि स्विट्जरल्यान्ड सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए । नेपालजस्तो प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुकमा हिमाल र जलस्रोतको सदुपयोग गरी जलविद्युत् क्षेत्रको विकास गर्न सकिने धारणा उनले व्यक्त गरे ।
