काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा नौ वटा उजुरी परेका छन् । समितिका सभापति बोधनारायण श्रेष्ठले सोमबार बसेको बैठकमा उजुरीको सङ्ख्या सार्वजनिक गरेका हुन् ।
सभापति श्रेष्ठका अनुसार प्रस्तावित न्यायाधीशहरूको सुनुवाइका लागि उजुरी सङ्कलन गर्ने काम अहिले चलिरहेको छ । प्राप्त उजुरीमध्ये गोप्य भनिएका बाहेकका उजुरीको अध्ययन थालिने उनले बताए । गोप्य रूपमा आएका उजुरी भने समितिको अर्को बैठकमा खोलेर अध्ययन गर्ने र त्यसपछि सुनुवाइको प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।
उजुरी दिने म्याद कात्तिक १९ गतेसम्म तोकिएको छ । म्याद सकिएपछि समितिले उजुरीमाथि अध्ययन गरेर प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ गर्ने तयारी गरेको छ ।
गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सिफारिसमा पर्नेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
सभापति श्रेष्ठले बैठकमा उजुरीको विवरण पनि सुनाएका थिए । उनका अनुसार चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध गरी जम्मा नौ वटा उजुरी प्राप्त भएका छन् । उजुरी अध्ययनपछि समितिले आगामी बैठकबाट सुनुवाइ प्रक्रिया अघि बढाउने जानकारी उनले दिए ।
