रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलामा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मध्यपहाडी लोकमार्गमा आइतबार बिहान करिब ११ः३० बजे खलङ्गाबाट सिम्ली जाँदै गरेको लु.प्र.०१–००१ ज ६४० नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको रा ४ प १५२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक गोविन्द विक र पछाडि सवार काशीराम विक घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी लगिएको थियो। उपचारका क्रममा काशीरामको दिउँसो १ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक गोविन्दको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले जिप चालक महेश भण्डारीसहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ।
