भारतको आसामको मुख्य सहर गुवाहाटीमा सोमबार राति एउटा होटलभित्र गोली चल्दा पाँच जनाको मृत्यु भएको छ। घटनामा एक महिलासमेत परेकी छन् भने अर्का एक जना घाइते भएर उपचाररत छन्।
प्रहरीका अनुसार घटना राति करिब नौ बजे भएको हो। आसाम प्रहरीको मुख्यालयबाट करिब दुई किलोमिटर टाढा जीएस रोडमा रहेको होटल बिलास इनमा यो गोलीकाण्ड भएको बताइएको छ। उक्त होटल बोरा सेवाको ठीक विपरीततिर पर्छ।
होटलका मालिक र भाडामा होटल सञ्चालन गरिरहेका व्यक्तिबीच चर्किएको विवादपछि गोली चलेको प्रहरीको भनाइ छ। विवादले उग्र रूप लिँदा होटलभित्रै गोली हानाहान भएको थियो।
घटनामा जम्मा छ जनालाई गोली लागेको थियो। तीमध्ये पाँच जनाको मृत्यु भइसकेको र एक जनाको अस्पतालमा उपचार चलिरहेको गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तले बताएका छन्। उनको भनाइ समाचार एजेन्सी पीटीआईले सार्वजनिक गरेको हो।
समाचार एजेन्सी एएनआईका अनुसार घटनापछि एक जनालाई नियन्त्रणमा लिइएको छ। प्रहरी आयुक्तका अनुसार हत्यामा इजाजतपत्र प्राप्त .३२ बोरको पेस्तोल प्रयोग भएको थियो। घटनामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
