स्याङ्जाका बस्तीहरूमा पछिल्ला दिनमा जुम्लाबाट ल्याइएको स्याउ धेरै घरमा पुग्न थालेको छ। गाडीमा राखेर टोलटोलमा पुर्याइने भएपछि स्थानीय बासिन्दाले आफूलाई मन परेको स्याउ छानेर किन्न पाएका छन्।
विदेशबाट आउने स्याउको तुलनामा यो उत्पादन सस्तो पर्ने, सफा हुने र स्वाद राम्रो हुने भएकाले धेरै उपभोक्ता आकर्षित भएका छन्। स्वदेशमै फलेको स्याउ भएकाले पनि खरिद गर्नेहरूको चासो बढेको व्यवसायीहरू बताउँछन्।
व्यवसायी गौरीलाल सञ्ज्यालका अनुसार उनको टोलीले जुम्लामा फलेको स्याउ ट्रकमा पोखरा पुर्याउँछ। त्यसपछि जिपमार्फत स्याङ्जासहित तनहुँ, लमजुङ, पर्वत र पाल्पाका विभिन्न टोलमा लगेर बिक्री गरिन्छ। यसअघि बजारसम्म लैजान नसक्दा उत्पादन कुहिने समस्या रहेको उनले बताए।
अहिले घरमै प्रतिकेजी १५० रुपैयाँमा स्याउ किन्न पाइने भएपछि दैनिक सयौँ पेटी बिक्री हुने गरेको छ। एकपटक खाएका ग्राहकले फेरि सम्पर्क गरेर माग गर्ने भएकाले बजार क्रमशः फराकिलो हुँदै गएको छ। विषादी प्रयोग नगरिएको र रङ लगाइएको नभएकाले यो स्याउ उपभोक्ताको रोजाइमा परेको सञ्ज्यालको भनाइ छ।
घरदैलोमै बिक्री हुँदा उपभोक्ताले कम मूल्यमा स्याउ पाएका छन् भने किसान र व्यवसायीले सोझै नगद आम्दानी गर्न पाएका छन्। कार्टुन भरिएका गाडी समयसमयमा टोलटोलमा पुगेर घुम्ती बिक्री गर्ने गरिएको छ।
