म्याग्दीको मङ्गला गाउँपालिकामा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। विपद्बाट गाउँपालिकाभर १६६ घरपरिवार प्रभावित भएका छन्।
गाउँपालिकाको विवरणअनुसार १७ घर पूर्ण रूपमा भत्किएका छन्। त्यस्तै ७७ घर उच्च जोखिममा परेका छन् भने ७२ घर जोखिमयुक्त अवस्थामा छन्। बाढीपहिरोले ५७२ रोपनी खेतबारीमा समेत क्षति पुगेको छ।
गोठ र सडकमा पनि ठूलो नोक्सान भएको छ। १२ वटा गोठ पूर्ण र १८ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने २० वटा सडक बिग्रिएका छन्।
गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार वडा नम्बर ५ को छिसवाङ, वडा नम्बर २ को भाइवाङ र वडा नम्बर ४ को महेशलाई जोखिमयुक्त बस्तीका रूपमा पहिचान गरिएको छ। प्रभावित परिवारलाई राहत वितरण र अस्थायी बसोबासको व्यवस्था मिलाउने काम भइरहेको छ भने क्षतिको विवरण सङ्कलन जारी छ।
बाढीपहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। वडा नम्बर ३ बरञ्जाका गङ्गाप्रसाद पुर्जा र कृष्णलाल सापकोटा बस्ती संरक्षण र पहिरो नियन्त्रणका लागि स्थानीय तह सक्रिय हुनुपर्नेमा जोड दिन्छन्। त्यसो नगरे आगामी वर्षायाममा झन् ठूलो क्षति हुने उनीहरूको भनाइ छ।
छिसवाङ, सहस्रधारा, तोराखेत र सेराफाँट क्षेत्रमा म्याग्दी नदीको कटानले बस्ती जोखिममा परेको छ। सिँचाइ तथा खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण पनि गाउँपालिकाले सङ्कलन गरिरहेको छ।
