शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा पसेर मानिसको ज्यान र बालीनालीमा नोक्सान पुर्याउँदै आएका जंगली हात्तीलाई अब रेडियो कलर लगाएर निगरानी गरिने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई कलर जडानको काम अघि बढाउन निर्देशन दिएको हो।
कलरबाट हात्तीको हिँडडुलबारे निरन्तर जानकारी संकलन गरिनेछ। त्यस तथ्याङ्कको नियमित अनुगमन र विश्लेषणबाट हात्ती कहाँ जाँदैछन् र कुन बस्तीमा पस्ने जोखिम छ भन्ने पहिल्यै अनुमान गर्न सकिने विभागको विश्वास छ। यसरी मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउने लक्ष्य राखिएको छ।
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीका अनुसार तथ्याङ्क विश्लेषणले स्थानीय समुदायलाई समयमै सचेत गराउन सकिनेछ, जसले मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिको नोक्सानी कम गर्न सघाउनेछ।
कलर जडानको काम निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष निगरानीमा पशु चिकित्सकसहितको प्राविधिक टोलीले गर्नेछ। हात्तीको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै वैज्ञानिक विधिबाट कलर लगाइनुका साथै त्यसपछि पनि नियमित अनुगमन गरिने मन्त्री चौधरीले जानकारी दिइन्।
