भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने फ्रीमांसले नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई नेपालका लागि आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। यो सहकार्य फ्रीमांसको नेपाल आगमनको एउटा महत्त्वपूर्ण उपलब्धि हो। यससँगै ब्रान्डले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै नेपाली बजारमा अग्रणी ब्रान्डका रूपमा स्थापित हुने लक्ष्य लिएको छ।
यस साझेदारीमार्फत फ्रीमांसले नेपाली उपभोक्ता, खुद्रा विक्रेता तथा च्यानल पार्टनरहरूसँगको सम्बन्ध थप सुदृढ बनाउनुका साथै आफ्नो विस्तारित उत्पादन सूचीमा रहेका मेजरिङ टेप, पावर टुल्स तथा ह्यान्ड टुल्सप्रति जनचेतना फैलाउने र माग बढाउने लक्ष्य राखेको छ।
कम्पनीका अनुसार आफ्नो बहुआयामिक खेल कौशल, निरन्तर उत्कृष्ट प्रदर्शन र प्रतिस्पर्धी भावनाका लागि परिचित दीपेन्द्र सिंह ऐरीमा फ्रीमांसले आफ्नो ब्रान्डको भावनासँग मेल खाने गुणहरू देखेको छ। सटीकता, उत्कृष्ट कार्यसम्पादन, विश्वसनीयता र दृढ संकल्पजस्ता गुणहरू फ्रीमांसका पहिचान हुन्। नेपाली क्रिकेटप्रेमीसँग दीपेन्द्रको बलियो सम्बन्धका कारण उनलाई उपभोक्ता तथा व्यावसायिक क्षेत्रका धेरै व्यक्तिहरूसम्म पुग्न चाहने फ्रीमांसका लागि उपयुक्त साझेदार बनाएको छ।
यस सहकार्यका बारेमा प्रतिक्रिया दिँदै एफ एम आई लिमिटेड (फ्रीमांस) का कार्यकारी निर्देशक साहिल नायरले नेपाल फ्रीमांसका लागि महत्त्वपूर्ण र रणनीतिक बजार भएको बताए। उनले कम्पनीको लक्ष्य यहाँ आफ्ना उत्पादन उपलब्ध गराउनु मात्र नभई नेपाललाई बुझ्ने, नेपाली बजारप्रति प्रतिबद्ध र आफ्ना साझेदार एवम् ग्राहकहरूको विकासमा सक्रिय योगदान पुर्याउने ब्रान्डका रूपमा पहिचान बनाउनु रहेको बताए। दीपेन्द्र सिंह ऐरीले महत्त्वाकाङ्क्षी, मेहनती र उत्कृष्ट प्रदर्शनमा विश्वास गर्ने नयाँ पुस्ताको नेपालको सशक्त प्रतिनिधित्व गर्ने उनले बताए।
दीपेन्द्र सिंह ऐरीले फ्रीमांससँग जोडिन पाउँदा निकै खुसी लागेको बताए। गुणस्तर, सटीकता र विश्वसनीयताका लागि परिचित यस ब्रान्डसँग यसको नेपाली बजारको यात्रामा हिस्सा बन्न पाउँदा उत्साहित भएको उनले बताए। उनले फ्रीमांससँगको सहकार्यमार्फत नेपाली उपभोक्ता र व्यवसायीहरूसँग यस ब्रान्डको सम्बन्ध स्थापित गर्न योगदान पुर्याउने अपेक्षा गरेको बताए।
फ्रीमांसले मेजरिङ टेपबाट आफ्नो उत्पादन रेन्ज विस्तार गर्दै आफ्नो पोर्टफोलियोमा स्पिरिट लेभल, मेजरिङ व्हिल, ह्यान्ड टुल्स, प्रेसिजन मेजरिङ टुल्स, डिजिटल मेजरिङ टुल्स तथा पावर टुल्स एक्सेसरिज समेत समेटेको छ। यसबाट कम्पनीले व्यावसायिक क्षेत्रका विज्ञ, प्राविधिक कामदार तथा आम उपभोक्ताका लागि आवश्यक पर्ने विभिन्न समाधानहरू उपलब्ध गराउँदै आएको छ।
