नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न मैदान पुग्ने दर्शकले यसपालि खेलसँगै आफ्नो स्वास्थ्य पनि जाँच गराउन पाउने भएका छन्। आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान)सँग तीन वर्षे सम्झौता गर्दै प्रतियोगिताको आधिकारिक स्वास्थ्य साझेदार बनेको छ।
सम्झौताअनुसार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्न आउने दर्शकले निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्नेछन्। मैदानमै रक्तचाप जाँच, उचाइ तथा तौल मापन र मधुमेह परीक्षणको सुविधा उपलब्ध हुनेछ।
खेल हेर्दाको उत्साहबीच दर्शकले आफ्नो स्वास्थ्य अवस्थाबारे सहजै जानकारी पाउने उद्देश्यले यो व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यसबाट खेलकुदसँगै स्वास्थ्य सचेतना बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
एनपीएलमा दर्शकको उल्लेख्य उपस्थिति रहने भएकाले मैदानमै स्वास्थ्य सेवा उपलब्ध गराउनु अर्थपूर्ण हुने कम्पनीको भनाइ छ। स्वास्थ्य परीक्षणका लागि दर्शकले छुट्टै शुल्क तिर्नु नपर्ने बताइएको छ।
