वासिङ्टन — अमेरिकाले युक्रेन हुँदै युरोपमा रूसी प्राकृतिक ग्यासको बिक्री फेरि सुरु गर्ने प्रस्ताव अघि सारेको छ। अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार हिउँदअघि रूस र युक्रेनबीच ऊर्जा पूर्वाधारमाथिको आक्रमण रोक्ने सहमति गराउने प्रयासस्वरूप यस्तो प्रस्ताव ल्याइएको हो।
प्रस्ताव कार्यान्वयन भए रूसले युक्रेन हुँदै पाइपलाइनबाट युरोपमा ग्यास बेच्न पाउनेछ। युरोपेली प्रतिबन्ध छल्न अमेरिकी मध्यस्थ कम्पनी प्रयोग गर्ने योजना छ, जसबाट अमेरिकी लगानीकर्ताले पनि ठूलो फाइदा लिन सक्नेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत ज्यारेड कुश्नर र स्टिभ विटकफले गत सेप्टेम्बरमा मस्को र किभ भ्रमणका क्रममा यो प्रस्ताव राखेका थिए।
अमेरिकी वार्ताकारहरूको बुझाइमा युरोपको ठूलो ऊर्जा बजारमा फेरि प्रवेश गर्न पाउने सम्भावनाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न सहमत गराउन सक्छ। युक्रेनले पनि आफ्नो भूमिबाट ग्यास लग्न दिए बापत शुल्क पाउनेछ। ग्यास बिक्रीबाट रूसले पाउने रकम तेस्रो मुलुकको अधिकार क्षेत्रमा रहने विशेष ‘एस्क्रो खाता’ मा जम्मा गरिनेछ, जसले रूसले उक्त रकम तत्काल युद्ध खर्चमा प्रयोग गर्न नपाउने अमेरिकी अधिकारीहरूको तर्क छ।
तर यो प्रस्ताव युरोपेली संघको अहिलेको नीतिसँग मेल खाँदैन। इयूले सन् २०२७ को अन्त्यसम्म रूसी प्राकृतिक ग्यासको आयात पूर्ण रूपमा बन्द गर्ने कानुन बनाइसकेको छ। इयूका ऊर्जा आयुक्त डान योर्गेन्सेनले गत अक्टोबरमा रूसी ग्यास आयातमाथिको प्रतिबन्ध स्थायी हुनुपर्ने बताएका थिए। युद्धअघि युरोपले खपत गर्ने प्राकृतिक ग्यासको करिब ४५ प्रतिशत रूसबाट आउँथ्यो, अहिले त्यो घटेर ११ प्रतिशतमा झरेको छ।
नोभेम्बरको मध्यतिर अबुधाबीमा अमेरिका, रूस र युक्रेनबीच त्रिपक्षीय शान्तिवार्ता गर्ने तयारी छ। तर रूसले अहिलेसम्म अमेरिकाको यस्तो प्रस्ताव स्वीकार गरेको छैन।
