हैदराबाद । भारतको हैदराबादमा प्रहरीले अवैध रूपमा डिम्बदान गराउने ठूलो सञ्जाल भत्काएको छ। कारबाहीका क्रममा ४३ महिलालाई उद्धार गरिएको छ भने एक होस्टेल सञ्चालकसहित नौ जनालाई पक्राउ गरिएको छ।
मल्काजगिरि प्रहरीले विभिन्न ठाउँमा छापा मारेर यो गिरोहको पर्दाफास गरेको हो। अनुसन्धानअनुसार आर्थिक अभावमा रहेका महिलाहरूको अवस्थाको फाइदा उठाउँदै यो धन्दा चलाइएको थियो। ग्राहकको रोजाइअनुसार जात, धर्म, छालाको रङ, उचाइ, शिक्षा र क्षेत्रका आधारमा महिला छनोट गरी डिम्ब संकलन गर्ने गरिएको थियो।
गिरोहका मुख्य अभियुक्त अमित शर्मा र उनका सहयोगीले विभिन्न राज्यका एजेन्टसँग ह्वाट्सएप समूह र डिजिटल माध्यमबाट सम्पर्क राख्ने गरेका थिए। सन्तान नभएका दम्पतीले डोनर खोज्दा उनीहरूको रोजाइअनुसार महिलाका तस्बिर र विवरण ती समूहमा पठाइने गरिएको थियो। महिलालाई सामान्यतया प्रतिचक्र २० देखि ३० हजार भारतीय रुपैयाँ दिने प्रलोभन देखाइन्थ्यो भने गोरो रङ, विशेष जात वा उच्च शिक्षा भएकाको हकमा रकम ५० हजारसम्म पुग्ने गरेको थियो।
उद्धार गरिएका महिला पश्चिम बंगाल, छत्तीसगढ, दिल्ली, असम, उत्तर प्रदेश, झारखण्ड र ओडिशाबाट ल्याइएका थिए। उनीहरूलाई राख्न गिरोहले कामकाजी महिला होस्टेल प्रयोग गरेको थियो। सरूरनगरस्थित शेट्टी कामकाजी महिला होस्टेलमा छापा मारिएपछि प्रकाश नगर, बेगमपेट, एर्रागड्डा र गोपालपुरममा पनि कारबाही भएको थियो।
छापाका क्रममा ठूलो मात्रामा हर्मोनल सुई, औषधि, सिरिन्ज, मोबाइल फोन र कागजात बरामद भएका छन्। महिलालाई गैरकानुनी रूपमा हर्मोनल सुई दिइएको थियो वा थिएन र स्वास्थ्य सुरक्षा तथा कानुनी सहमति पालना भएको थियो कि थिएन भन्नेबारे जाँच भइरहेको छ।
मल्काजगिरिका प्रहरी आयुक्त बी सुमतिका अनुसार यस घटनामा निजी आईभीएफ केन्द्र र सहायक प्रजनन प्रविधि बैंकहरूको संलग्नताबारे पनि गम्भीर अनुसन्धान भइरहेको छ। प्रहरीले भारतीय न्याय संहिता र सहायक प्रजनन प्रविधि नियमन ऐन, २०२१ अन्तर्गत तीन छुट्टाछुट्टै मुद्दा दर्ता गरेको छ।
हैदराबादमा अवैध डिम्बदान र्याकेट भत्कियो, ४३ महिलाको उद्धार
