काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। स्वार्थको द्वन्द्वसँग जोडिएको प्रश्न उठेपछि उनले उक्त निर्णय गरेका हुन्।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाको निर्णयबारे सदस्यहरूलाई जानकारी गराए। बैठकमा उपस्थित थापाले देशको विषय भएकाले स्वार्थ बाझिने अवस्था देखिए आफू पछि हट्ने बताएका थिए। लिखित रूपमा फिर्ता लिने पत्र भने केही समयपछि आउने समितिले जनाएको छ।
यसअघि असोज २८ गते भएको सुनुवाइका क्रममा थापासँग जापानको स्थायी बसोबास अनुमति रहेको विषयमा सांसदहरूले प्रश्न उठाएका थिए। उनले उक्त अनुमति आफूले त्यागिसकेको बताए पनि संविधानको धारा २९१ को व्यवस्था र अनुमति त्यागेको मितिका बारेमा थप जिज्ञासा उठेकाले सुनुवाइ रोकिएको थियो।
त्यसपछि समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग थप विवरण मागेको थियो। मन्त्रालयले दूतावासमार्फत प्राप्त जवाफ समितिसमक्ष पठाएको थियो।
स्वार्थ बाझिने भएपछि जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम
