रौतहट । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
बौधीमाई नगरपालिका–७ स्थित बंकुल–नरकटिया सडकखण्डमा सोमबार दिउँसो प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो। बाराबाट रौतहटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा त्यसको फिल्टरभित्र लुकाएर राखिएको अवस्थामा रकम फेला परेको प्रहरीले जनाएको छ।
बरामद रकममा एक हजार दरका ५९३ थान र पाँच सय दरका ८१४ थान नोट रहेका छन्। हिसाब गर्दा एक हजार दरका नोटबाट पाँच लाख ९३ हजार र पाँच सय दरका नोटबाट चार लाख सात हजार रुपैयाँ गरी जम्मा १० लाख रुपैयाँ पुगेको छ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला, घोडसन गाउँका ३३ वर्षीय टुना दास रहेका छन्। प्रहरीले रकमसँगै मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
रकमको स्रोत र गन्तव्यबारे पक्राउ परेका दाससँग सोधपुछ भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
स्रोत नखुलेको १० लाख रुपैयाँसहित रौतहटमा भारतीय नागरिक पक्राउ
