काठमाडौं । विपक्षी दलहरूले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको आरोप लगाउँदै संघीय संसद्को अधिवेशन तत्काल बोलाउन माग गरेका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले सो निर्णय गरेको हो।
बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। उनले बैठकमा सुनसरीको कप्तानगञ्ज घटना, गृहमन्त्रीको सम्पत्तिसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको विषय र अध्यादेशमार्फत शासन गर्न खोजेको प्रसंग उठेको जानकारी दिए।
सरकारले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै संसद्को औचित्य नै सकिएजस्तो देखिएको उनको भनाइ थियो। त्यसैले विपक्षी दलहरूले तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको उनले बताए।
विपक्षी दलहरूको यो मागसँगै संसद् अधिवेशनको विषय फेरि राजनीतिक बहसको केन्द्रमा आएको छ। सरकारले भने यस विषयमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
