काठमाडौँ । वरिष्ठ साहित्यकार तथा महाकाव्यकार खेमनाथ दाहाललाई यस वर्षको ‘टीका गोपाल राष्ट्रिय गीत–सङ्गीत पुरस्कार–२०८३’ प्रदान गरिने भएको छ। टीका गोपाल प्रतिष्ठानले दाहाललाई उक्त सम्मान दिने निर्णय गरेको हो।
प्रतिष्ठानका अध्यक्ष गीता सिंहको अध्यक्षतामा शनिबार काठमाडौँमा बसेको बैठकले दाहालको नाम छनोट गरेको थियो। पुरस्कार यसै साताभित्र काठमाडौँमा आयोजना गरिने विशेष समारोहमार्फत प्रदान गरिनेछ।
यसअघि यो पुरस्कार संगीतकार सन्तोष श्रेष्ठ र गीतकार डा. डिआर उपाध्यायले प्राप्त गरेका थिए। गायक तथा संगीतकार कन्हैया सिंहले आफ्ना मातापिताको नाममा स्थापना गरेको यो पुरस्कार नेपाली गीत–संगीतको प्रवद्र्धन र स्रष्टाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले दिइँदै आएको छ।
साहित्य, संस्कृति, दर्शन र मानवीय संवेदनाका विविध पक्षलाई सिर्जनाका माध्यमबाट अभिव्यक्त गर्दै दाहालले नेपाली वाङ्मयको समृद्धिमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ। शब्दलाई साधना र सिर्जनालाई जीवनदर्शनका रूपमा आत्मसात् गर्दै आएका दाहाल नेपाली साहित्यका बहुआयामिक स्रष्टाका रूपमा परिचित छन्।
