काठमाडौँ । कम्युनिस्ट आन्दोलनभित्र नयाँ समीकरण बन्ने भएको छ। उमा भुजेलको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब नेपाली कम्युनिस्ट पार्टीमा विलय हुने भएको हो। दुई पार्टीबीचको यो समायोजनको औपचारिक घोषणा कात्तिक १७ गते गरिने भएको छ।
घोषणाका लागि कोटेश्वरस्थित पेरिसडाँडामा रहेको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे विशेष सभा आयोजना गरिनेछ। उक्त सभामार्फत दुवै पार्टीका नेता तथा कार्यकर्ता एउटै सङ्गठनमा आबद्ध हुने घोषणा गरिनेछ।
यसअघि भुजेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर छुट्टै राष्ट्रिय भेला आयोजना गरेकी थिइन्। उक्त भेलाले भुजेलकै नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो। त्यसयता भुजेल समूहले छुट्टै पहिचानका साथ राजनीतिक गतिविधि गर्दै आएको थियो।
कम्युनिस्ट आन्दोलनमा एकता, सहकार्य र ध्रुवीकरणको प्रक्रियालाई गति दिने उद्देश्यले यो समायोजन हुन लागेको बताइएको छ। एकतापछि दुवै पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता एउटै राजनीतिक सङ्गठनमा गोलबन्द हुनेछन्।
