काठमाडौं — प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित भएका समाचारप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले सार्वजनिक रूपमा उठेका प्रश्नबारे कुनै पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढंगले छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। छानबिनपछि सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न पनि बैठकले भनेको छ।
बैठकले संविधान र कानुनको सर्वोच्चता आफ्नो अटल आस्था र प्रतिबद्धता भएको उल्लेख गर्दै कानुनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको छ। न्यायपालिकाप्रतिको भरोसा जोगाउन संविधान र कानुनको पालना नै मुख्य आधार भएको बैठकको निष्कर्ष छ।
साथै, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा क्रियाशील रहन देशभरका अदालतमा कार्यरत न्यायकर्मीहरूलाई बैठकले सोमबार विज्ञप्तिमार्फत आग्रह गरेको छ।
इनम सापकोटा प्रकरणमा सर्वोच्चका केही न्यायाधीश समेत मुछिएपछि सर्वोच्चको फुलकोर्ट बसेको थियो। उक्त प्रकरणपछि न्यायपालिकाबारे विभिन्न प्रश्न उठिरहेका छन्।
पूर्ण बैठक प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी हुने बैठक हो। बैठकले उठेका प्रश्नको छानबिन संविधान र कानुनबमोजिम नै हुनुपर्नेमा जोड दिएको छ।
