अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कुनै समयमा पुनः आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि आइतबार आयोवामा आयोजित चुनावी सभामा उनले इरानमाथि कारबाही पुनः सुरु गर्ने संकेत गरे। उनले भने, इरानसँगको विषय टुङ्ग्याउन नसक्नुको एउटै कारण आफू संयमित हुन चाहनु हो, र कुनै समयमा कडा प्रहार गर्नुपर्ने हुन्छ।
इरानी सेनाले भने अमेरिकाले नयाँ आक्रमण गरे त्यसको जवाफ पहिलेभन्दा व्यापक र निर्णायक हुने बताएको छ। सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले अमेरिकी सैन्य अखडा, उपकरण, कर्मचारी र स्वार्थलाई इरानको पहुँच पुग्ने जुनसुकै ठाउँमा निशाना बनाउन सकिने चेतावनी दिए। नयाँ द्वन्द्व अघिल्लोभन्दा लामो समयसम्म चल्न सक्ने उनको भनाइ छ।
यसैबीच अमेरिकी समाचार संस्था एक्सियोसका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार टेलिफोन वार्ताका क्रममा अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि आक्रमण गर्न ट्रम्पलाई आग्रह गरेका थिए। तर ट्रम्प वार्तालाई निरन्तरता दिन चाहेको बताइएको छ।
वासिङ्टनबाट कूटनीति र सैन्य कारबाही दुवैका संकेत आइरहेका बेला इरानले बिहीबार अमेरिकी उपराष्ट्रपति जेडी भान्सबाट शान्ति वार्ता पुनः सुरु गर्न आह्वान गरिएको पत्र प्राप्त गरेको थियो। ट्रम्पको निर्देशनमा पठाइएको उक्त पत्रको भाषालाई तेहरानले सकारात्मक संकेतका रूपमा लिएको जनाएको छ।
तर वाल स्ट्रिट जर्नलका अनुसार वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूले बिहीबार ट्रम्पलाई इरानसम्बन्धी सम्भावित विकल्पबारे जानकारी गराएका थिए। मध्यावधि निर्वाचनपछि इरानविरुद्ध छोटो तर तीव्र सैन्य अभियान सञ्चालन गर्न सक्ने तयारीस्वरूप अमेरिकाले खाडी क्षेत्रका केही देशलाई आग्रह गरेको पनि समाचारमा उल्लेख छ।
इरानका सर्वोच्च नेता मोजताबा खमेनीले शनिबार जारी वक्तव्यमा वरिष्ठ सैन्य कमान्डरहरूलाई शत्रुबाट आउने जुनसुकै प्रकृति र स्तरको खतराको तत्काल तथा प्रभावकारी जवाफ दिन निर्देशन दिएका छन्। यस्तो प्रतिकार भौगोलिक सीमामा सीमित हुन नहुने उनको भनाइ थियो।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए। त्यसको जवाफमा इरानले इजरायल र क्षेत्रका अमेरिकी सैन्य अखडा तथा सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो। इरानले हर्मुज जलघाँटीमाथि आफ्नो नियन्त्रण पनि कडा बनाएको थियो।
