वासिङ्टन । यस वर्षको अमेरिकी मध्यावधि निर्वाचन इतिहासकै सबैभन्दा महँगो मध्यावधि निर्वाचन बन्ने अनुमान गरिएको छ । राजनीतिक खर्चको निगरानी गर्ने संस्था ओपनसेक्रेट्सका अनुसार यसपटकको निर्वाचनमा कुल ११ अर्ब ९३ करोड अमेरिकी डलर खर्च हुने देखिएको छ ।
अनुमानअनुसार डेमोक्र्याटिक पार्टीले पाँच अर्ब ५२ करोड डलर र रिपब्लिकन पार्टीले पाँच अर्ब १२ करोड डलर खर्च गर्नेछन् । स्वतन्त्र उम्मेदवार तथा समूहहरूको खर्च एक अर्ब ३० करोड डलर पुग्ने आँकलन गरिएको छ । दुई ठूला दलबीचको खर्चको अन्तर करिब ४० करोड डलर मात्र छ, जसले प्रतिस्पर्धा कति चर्को छ भन्ने देखाउँछ ।
सन् २०२२ को मध्यावधि निर्वाचनमा कुल आठ अर्ब ९४ करोड डलर खर्च भएको थियो । त्यसको तुलनामा यस वर्षको खर्च करिब एक तिहाइले बढ्नेछ । सन् २०२६ को मध्यावधि निर्वाचनभन्दा धेरै खर्च भएका निर्वाचन अमेरिकामा केवल दुईवटा छन् — सन् २०२० र सन् २०२४ का राष्ट्रपतीय निर्वाचन । ती दुवै निर्वाचनमा करिब १५ अर्ब डलर खर्च भएको थियो । ओपनसेक्रेट्सको अनुमान सही साबित भए यो मध्यावधि निर्वाचनमा हुने खर्चले यसअघिका सबै मध्यावधि निर्वाचनको कीर्तिमान तोड्नेछ ।
