मकवानपुर । बागमती प्रदेश सभाको सभामुख चयन गर्ने प्रक्रिया सत्तारुढ गठबन्धनभित्रकै शक्ति बाँडफाँटको विवादमा अल्झिएको छ । मन्त्रालय बाँडफाँटमा देखिएको असन्तुष्टि र आकाङ्क्षी व्यवस्थापन गर्न नसक्दा प्रदेश सभा बैठक आह्वान हुन सकेको छैन ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन सभामुख भुवनकुमार पाठकले असोज १ गते राजीनामा दिएयता उक्त पद रिक्त छ । त्यसयता दलहरूबीच सहमति नजुट्दा चयन प्रक्रिया अघि बढ्न सकेको छैन ।
सरकार गठनका बेला भएको समझदारीअनुसार सभामुखसहित दुई मन्त्रालय नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले र मुख्यमन्त्रीसहित तीन मन्त्रालय नेकपा एमालेले पाउने भनिएको थियो । सोही सहमतिका आधारमा एमालेका किरण थापा मुख्यमन्त्री बनेका थिए । तर मुख्यमन्त्री थापाले महत्वपूर्ण मन्त्रालय राप्रपालाई दिएपछि नेकपा असन्तुष्ट बनेको छ । हाल सरकारमा एक मन्त्री विभागविहीन छन् भने एउटा मन्त्रालय रिक्त छ ।
नेकपाका एक सांसदका अनुसार सरकार बन्दा भौतिक, खानेपानी, सामाजिक र पर्यटनजस्ता मन्त्रालय राप्रपा र एमालेले राखे, नेकपाले अर्थ र कृषि मन्त्रालयमा चित्त बुझाउनुपर्यो । सबैभन्दा ठूलो सत्ता साझेदार भएर पनि मन्त्रालय बाँडफाँटमा चेपुवामा परेको उनको गुनासो छ । सभामुखका लागि नेकपाका सांसद कृष्णप्रसाद खनाल र रत्न ढकालबीच होड चलिरहेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले भने सत्ता साझेदारबीच कुनै समस्या नरहेको दाबी गर्दै तिहारलगत्तै प्रदेश सभा आह्वान गरी सभामुख चयनसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताए । सरकारका प्रवक्ता भरतबहादुर केसीले पनि पूर्वसहमतिअनुसार नै सभामुख नेकपाले पाउने बताए ।
बैठक नबस्दा उच्च शिक्षा संशोधन, वन तथा वातावरण, आर्थिक कार्यविधि र खानेपानीसम्बन्धी विधेयक समितिमै अड्किएका छन् । बाढी–पहिरोपछि राहत र पुनर्स्थापनाका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउन सांसदहरूले तत्काल बैठक बोलाउन दबाब दिइरहेका छन् ।
