ब्राजिलको राष्ट्रपति चुनावमा लुइज इनासियो लुला दा सिल्भाले जित हासिल गरेपछि विजयी मञ्चमा उभिएका एक व्यक्तिलाई उनले सबैसामु ‘हाम्रा जनरल’ भनेर चिनाए। पहेँलो फुटबल जर्सी लगाएका ती व्यक्ति थिए— ४२ वर्षीय सांसद जानोनेस। लुलाले चुनावी अभियानमा समर्थकको मनोबल बढाउन उनले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिए।
८० वर्षीय लुलाले ५१ दशमलव ७९ प्रतिशत मत ल्याएर चुनाव जिते भने उनका प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोले ४८ दशमलव २१ प्रतिशत मत पाए। तीन साताअघि भएको पहिलो चरणमा लुला ४५ दशमलव १६ प्रतिशत मतसहित फ्लाभियोभन्दा पछाडि परेका थिए। फ्लाभियोले पहिलो चरणमा ४७ दशमलव शून्य ३ प्रतिशत मत पाएका थिए। धेरै विश्लेषकले लुलाको हारको अनुमान गरिरहेका थिए।
जानोनेस ब्राजिलको मिनास जेराइस राज्यबाट निर्वाचित सांसद हुन्। उनी लुलाको दल वर्कर्स पार्टीका सदस्यसमेत होइनन् र लुलाको चुनावी अभियानमा उनको कुनै औपचारिक जिम्मेवारी पनि थिएन। तर चुनावको अन्तिम तीन साता उनी लुलाको पक्षमा सामाजिक सञ्जालबाट अभियान चलाउने सबैभन्दा चर्चित व्यक्तिमध्ये एक बने।
उनले अप्रिल महिनामै ‘लुलाको सेना’ नामको ह्वाट्सएप च्यानल खोलेका थिए, जसमा सुरुमा करिब ५३ हजार मानिस जोडिएका थिए। पहिलो चरणको परिणाम आएको भोलिपल्ट, अक्टोबर ५ मा उनले सदस्यलाई जित्ने विश्वास दिलाउने सन्देश पठाए। त्यसपछि तीन साताभित्र च्यानलमा एक करोडभन्दा बढी मानिस जोडिए। जानोनेसले उनीहरूलाई आफ्ना ‘सैनिक’ भन्थे भने आफूलाई ‘जनरल’ र दिनहुँ दिने कामलाई ‘मिसन’ भन्ने गर्थे।
उनले समर्थकलाई दिनहुँ नयाँ काम दिन्थे— कहिले लुलाको भिडिओ अन्तिमसम्म हेर्न, कहिले त्यसमा प्रतिक्रिया लेखेर अरूलाई पठाउन र कहिले धेरै मानिसले एउटै विषयमा एकै पटक पोस्ट गर्न। लुलाविरुद्धका पोस्टमा प्रतिक्रिया नदिन पनि उनले सम्झाए, किनभने धेरै प्रतिक्रिया आए सामाजिक सञ्जालले त्यस्तो सामग्री अझ धेरै मानिससम्म पुर्याउँछ।
उनको एउटा अभियान विशेष चर्चित भयो। ब्राजिलको राष्ट्रिय फुटबल टोलीको पहेँलो जर्सी लामो समयदेखि दक्षिणपन्थी समर्थकले प्रयोग गर्दै आएका थिए। जानोनेसले लुलाका समर्थकलाई त्यही जर्सी लगाएर हातले अंग्रेजी अक्षर ‘एल’ बनाउँदै तस्बिर खिच्न लगाए। ‘हामी हाम्रा प्रतीकहरू फिर्ता लिनेछौं,’ उनले च्यानलमा लेखे। फ्लाभियो ठूलो टेलिभिजनमा देखिने समयमा उनले समर्थकलाई घरघरमा भाँडाकुँडा ठटाएर विरोध गर्न आह्वान गरे, जसलाई ल्याटिन अमेरिकामा ‘पानेलासो’ भनिन्छ।
जानोनेस गरिब परिवारमा जन्मिएका थिए। आमाले एक्लै हुर्काएकी थिइन् र उनले बसमा भाडा उठाउने काम गरेर कानुन पढेका थिए। सन् २०१८ मा गरिबको पक्षमा बनाएका भिडिओ चर्चित भएपछि उनी पहिलो पटक सांसद निर्वाचित भएका थिए। अक्टोबर २८ मा प्रकाशित न्यूयोर्क टाइम्सको विस्तृत रिपोर्टमा उनको अभियानको रोचक विवरण छ। दुई घन्टा लामो अन्तर्वार्तामा जानोनेसले लोकतन्त्र जोगाउन योगदान दिन पाएकोमा आफ्नो जीवन सार्थक भएको लागेको बताए।
