चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्ने घोप्टेभिरमा आज बिहान खसेको सुक्खा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुवैतर्फ सञ्चालनमा आएको छ। दिउँसो २ बजेर १५ मिनेटदेखि सडक पूर्ण रूपमा खुलेको हो।
बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। दिउँसो १२ बजेदेखि सवारीसाधनलाई एकतर्फी रूपमा आलोपालो गरी पठाइएको थियो। दुवैतर्फको यातायात खुलेसँगै रोकिएका सवारीसाधन आफ्ना गन्तव्यतर्फ लागेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पहिरो हटाउने काम सकिएपछि सडक सहज भएको छ। नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रले झन्डै ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सफाइ गर्न कठिन भएको बताए। उनले सो ठाउँमा भित्तो काटिएको नभए पनि माथिबाटै पहिरो खसेको र ठाउँ कमजोर भएकाले जुनसुकै बेला फेरि पहिरो खस्न सक्ने जोखिम कायमै रहेको जानकारी दिए।
