जनकपुरमा छुरा प्रहार गरी २४ वर्षीय युवकको हत्या गरेको आरोपमा पक्राउ परेका इर्साद खानलाई पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालत धनुषाले आदेश दिएको छ। मंगलबार न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले इर्सादलाई पुर्पक्षमा पठाउने आदेश दिएको हो।
यसै प्रकरणमा उनकी आमा सैमुन खातुनलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। गत २२ असोजमा जनकपुरधाम उपमहानगरपालिका ५ स्थित जानकी मन्दिर छेउको सोनारपट्टीमा छुरा प्रहार गरी २४ वर्षीय आमिन साफीको हत्या भएको थियो।
उक्त घटनामा छुरा प्रहारबाट २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका थिए। अदालतका अनुसार इर्सादमाथि यसअघि पनि जनकपुरमा दुईजनामाथि छुरा प्रहार गरेको आरोपमा दुईवटा ज्यान मार्ने उद्योगका मुद्दा दर्ता छन्। ती मुद्दामा थुनछेक बहस भइरहेको अदालतले जनाएको छ। एकपछि अर्को छुरा प्रहारको घटनाले जनकपुरमा त्रास बढाएको छ भने पीडित परिवारले न्यायको माग गरेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
