कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ की मेघा रावलले आफ्नै जग्गामा फूलखेती गरेर आत्मनिर्भर बन्ने बाटो रोजेकी छन्। तीन वर्षे कृषि जेटिए अध्ययन पूरा गरेपछि उनले गाउँमै केही गर्ने सोचका साथ पुष्प व्यवसाय सुरु गरेकी हुन्।
रावलले आफ्नो चार कट्ठा जग्गामा सयपत्रीका दुई हजार ४०० बोट लगाएकी छन्। बजारमा फूलको माग र यस क्षेत्रको सम्भावना देखेर आफू यस व्यवसायतर्फ आकर्षित भएको उनले बताएकी छन्। उनको भनाइमा चाडपर्वका बेला फूलको माग उल्लेख्य रूपमा बढ्छ, त्यसैले यस व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ।
तिहारलगायतका चाडपर्व, धार्मिक तथा सांस्कृतिक कार्यक्रम, विवाह र अन्य समारोहमा फूलको प्रयोग बढ्दै गएको छ। बाहिरबाट फूल ल्याउनुको सट्टा आफ्नै ठाउँमा उत्पादन गरेर आम्दानी गर्न सकिने रावलको भनाइ छ। स्थानीयस्तरमा उत्पादित फूलले पछिल्लो समय बजार पाउन थालेको पनि उनले बताएकी छन्।
परम्परागत खेतीको तुलनामा फूलखेतीबाट दुई गुणा बढी आम्दानी हुने उनको अनुभव छ। यसपटकको माग र बजारको अवस्था हेरेर अर्को वर्ष खेती विस्तार गर्ने योजना रहेको उनले सुनाएकी छन्। अध्ययनका क्रममा सिकेको सैद्धान्तिक सीप व्यवहारमा प्रयोग गर्दै आत्मनिर्भर बन्न खेतीले सहयोग गर्ने उनको विश्वास छ।
