झापा प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर जुवा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई नगद, तास, कौडा र मोबाइलसहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कात्तिक २३ गते दिउँसो साढे चार बजे कमल गाउँपालिका वडा नम्बर ५ स्थित ४५ वर्षीया गीता भट्टराईको घरमा जुवाजन्य तास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उक्त घरमा खानतलासी गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उक्त जुवाखालबाट एक लाख १८ हजार दुई सय रुपैयाँ नगद बरामद गरेको छ। त्यसका साथै पाँच बुङ तास र नौ थान मोबाइलसमेत जफत गरिएको प्रहरीले जनाएको छ।
यसैगरी कात्तिक २४ गते राति करिब तीन बजे दमक नगरपालिका वडा नम्बर १० स्थित स्वास्थ्य चौकी छेउमा रहेको पुरानो गोठमा कौडा खेलिरहेका १० जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमककै टोलीले छापा मार्दा उनीहरू पक्राउ परेका हुन्।
जुवाडेहरूको साथबाट ८९ हजार सात सय १० रुपैयाँ नगद फेला परेको छ। साथै खालबाट १५ थान कौडा र नौ थान मोबाइलसमेत बरामद गरिएको छ।
दुवै घटनामा संलग्न मानिसहरूलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले दुवै घटनाको सम्बन्धमा टोलीबाट थप अनुसन्धान भइरहेको जानकारी दिए।
