बागलुङ । प्राकृतिक सौन्दर्य, फराकिला पाटन र हिमशृङ्खलाको दृश्यका लागि परिचित ढोरपाटनमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । चालु आर्थिक वर्षको पहिलो सिकार याम सुरु भएसँगै विदेशी सिकारी सिकारमा व्यस्त छन् भने आन्तरिक पर्यटक पदयात्रा र प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका छन् ।
नेपालमा वैधानिक रूपमा सिकार खेल्न पाइने एक मात्र क्षेत्र ढोरपाटनमा असोजदेखि मङ्सिरसम्म रहने पहिलो याम चलिरहेको छ । यस याममा हालसम्म १० वटा नाउर र सात वटा झारलको सिकार भइरहेको छ । ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार अहिलेसम्म ११ जना विदेशी सिकारी ढोरपाटन आइसकेका छन् भने थप छ जना आउने तयारीमा छन् ।
रसिया, अमेरिका, स्पेन, डेनमार्क, फ्रान्सलगायत देश तथा अफ्रिकी मुलुकबाट सिकारी ढोरपाटन आउने गरेका छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सातवटा सिकार ब्लक छन् । सिकारका क्रममा विदेशी सिकारीसँग नेपाली सहयोगी र आरक्षका कर्मचारी पनि खटिने गरेका छन् ।
गत आर्थिक वर्षका दुई सिकार याममा २१ वटा नाउर र ११ वटा झारलको सिकार भएको थियो । त्यसबाट चार करोड १७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने सोही अवधिमा ३७ हजार आन्तरिक तथा बाह्य पर्यटकले ढोरपाटन भ्रमण गरेका थिए ।
विदेशी सिकारीको गतिविधि उच्च पहाडी सिकार क्षेत्रमा केन्द्रित रहँदा ढोरपाटन उपत्यका, निसेलढोर, बुकीपाटन र जलजलामा भने आन्तरिक पर्यटकको आकर्षण बढेको छ । पर्यटकको आगमन बढेसँगै ढोरपाटनमा होटल तथा घरबास सञ्चालन पनि विस्तार हुँदै गएको छ । विसं २०४४ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ ।
