अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दोस्रो कार्यकालमा तीन लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत यो तथ्यांक सार्वजनिक गर्दै भिसा रद्द गर्ने गति इतिहासमै सबैभन्दा तीव्र रहेको दाबी गरे।
रोयटर्सका अनुसार सन् २०२५ जनवरीमा ट्रम्पले दोस्रो कार्यकाल थालेयता अगस्ट १० सम्म एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द भएका थिए। पछिल्लो विवरणले केही सातायता यो क्रम झन् तीव्र भएको देखाएको छ।
प्रशासनले भिसा लिएर अमेरिका पुगेका विदेशीले कानुन तोड्ने, ठगी गर्ने वा राष्ट्रिय सुरक्षामा खतरा पैदा गर्ने गतिविधि गरेमा कुनै सहनशीलता नरहने बताएको छ। आप्रवासन नियन्त्रण र देशनिकाला अभियानलाई उसले आन्तरिक सुरक्षा सुधार्ने प्रयासका रूपमा व्याख्या गर्दै आएको छ।
तर मानवअधिकारका पक्षधरहरूले सरकारले उचित कानुनी प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रताको हक उल्लंघन गरेको आरोप लगाएका छन्। जातीय अल्पसंख्यक समुदायमाथि विभेदपूर्ण निगरानी र कारबाही भइरहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
गाजामा इजरायली आक्रमणको विरोधमा प्रदर्शन गर्ने प्यालेस्टाइन समर्थक विदेशी नागरिकको भिसा रद्द भएका घटनाको मानवअधिकारवादीहरूले आलोचना गरेका छन्। त्यस्तै दक्षिणपन्थी टिप्पणीकार चार्ली कर्कको हत्याबारे सामाजिक सञ्जालमा टिप्पणी गरेका विदेशी नागरिकको भिसा रद्द भएको घटनाले पनि विवाद निम्त्यायो।
प्रशासनले आप्रवासी तथा भिसा आवेदकको सामाजिक सञ्जाल जाँच कडा बनाएको छ भने केही कार्य भिसामा महँगो शुल्क लगाइएको छ। सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले अवैध आप्रवासन रोक्ने प्रतिबद्धता जनाएका थिए, तर पछिल्ला नीतिले कानुनी रूपमा अमेरिका छिर्न चाहनेलाई समेत असर पारेको भन्दै आलोचना भइरहेको छ।
