वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको सन् २०२८ को सम्भावित राष्ट्रपति उम्मेदवारीबारे अहिले नै टिप्पणी गर्न नचाहेका छन्।
मङ्गलबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूले सन् २०२८ को निर्वाचनमा भान्स उम्मेदवार बने ट्रम्पले समर्थन गर्ने हो कि भनेर सोधेका थिए। संयोगवश, उक्त प्रश्न सोधिँदा भान्स ट्रम्पको ठीक पछाडि उभिएका थिए।
जवाफमा ट्रम्पले भान्सलाई ‘अत्यन्त प्रतिभाशाली’ र ‘निकै असल व्यक्ति’ भन्दै प्रशंसा गरे, तर अहिले नै भविष्यको राजनीतिमा छलफल गर्नु उपयुक्त नभएको बताए। ‘अहिले यसबारे कुरा गर्नु धेरै चाँडो हुन्छ। हामीले पहिले मध्यावधि निर्वाचन पार गर्नुपर्छ। त्यसपछि परिस्थिति कस्तो हुन्छ, हेर्नेछौँ,’ ट्रम्पले भने।
यसैबीच उपराष्ट्रपति भान्सले पत्रकार मार्क हेल्परिनलाई दिएको अन्तर्वार्तामा आफूले राष्ट्रपति निर्वाचन लड्ने वा नलड्नेबारे निर्णय गरिनसकेको बताएका छन्। यद्यपि, यदि आफूले निर्वाचन लड्ने निर्णय गरेमा ट्रम्पले समर्थन गर्ने अपेक्षा रहेको उनले खुलाएका छन्।
