अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध फेरि सैन्य कारबाही हुन सक्ने सङ्केत गरेका छन्। शुक्रबार फ्लोरिडामा आयोजित र्यालीमा उनले भने, ‘हामी अर्को सानो अपरेसन एपिक फ्युरी गर्न सक्छौँ।’ अमेरिकी सेनाले गएको २८ फेब्रुअरीदेखि इरानसँगको युद्धलाई ‘एपिक फ्युरी’ नाम दिएको छ। यद्यपि, ट्रम्पले कारबाही कहिले वा कस्तो हुनेछ भन्ने खुलाएनन्।इरानले पनि जवाफी चेतावनी दिएको छ। अमेरिका र इजरायलले फेरि हमला गरे खाडी क्षेत्रका समुन्द्रमुनिका इन्टरनेट केबललाई निसाना बनाउने योजना रहेको दुई वरिष्ठ इरानी सुरक्षा अधिकारीहरूले रोयटर्सलाई बताएका छन्। इरानको रिभोलुसनरी गार्ड्सका राजनीतिक मामिला उपप्रमुख यदुल्लाह जवानीका अनुसार होर्मुजमुनि जाने सात प्रमुख केबल निसानामा पर्न सक्छन्, र अधिकारी मोहसेन रेजाईले खाडीका अमेरिकी डाटा सेन्टर तथा एआई केन्द्रमाथि हमलाको चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसङ्घको आईटीयूका अनुसार विश्वको ९९ प्रतिशत इन्टरनेट ट्राफिक यिनै केबलबाट पास हुन्छ।यसबीच द न्युयोर्क टाइम्सले २१ अक्टोबरको रिपोर्टमा नोभेम्बर ३ को अमेरिकी मिडटर्म चुनावपछि अमेरिका र इजरायलले इरानमाथि नयाँ हमलाको तयारी गरिरहेको दाबी गरेको छ। हमलाका लक्ष्यमा इरानका ऊर्जा पूर्वाधार, आणविक केन्द्र र क्षेप्यास्त्र–ड्रोन भण्डार रहेको रिपोर्टमा उल्लेख छ। टर्कीका हाकान फिदान, फ्रान्सका जाँ-नोएल बारो र जर्मनीका जोहान वाडेफुलले भने नयाँ हमलाले युद्ध क्षेत्रभर फैलिने र तेल–ग्यासको मूल्यमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।
ट्रम्पले भने — इरानमाथि फेरि ‘एपिक फ्युरी’ हुन सक्छ, इरानले चेतायो : समुन्द्रमुनिका केबल काट्छौँ
