मकवानपुर जिल्लामा असोज महिनाभरि भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उक्त अवधिमा जिल्लाभरि ५२ वटा छुट्टाछुट्टै दुर्घटना भएका हुन्।
प्रहरीका अनुसार दुर्घटनामा परेका ५० जनाको उद्धार गरिएको थियो। दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि गरिएको कारबाहीका क्रममा ८५५ वटा सवारीसाधनमाथि कारबाही भएको छ। उक्त कारबाहीबाट आठ लाख ५५ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले असोज महिनाको दुर्घटना विवरण सार्वजनिक गर्दै मृतक र घाइतेको सङ्ख्या पुष्टि गरेका हुन्। उनले दुर्घटनामा परेकाहरूको उद्धार र उपचारमा प्रहरीले सक्रिय भूमिका खेलेको बताए।
सवारी दुर्घटना बढ्दै गएको भन्दै प्रहरीले चालक र यात्रुलाई ट्राफिक नियम पालना गर्न र सावधानी अपनाउन आग्रह गरेको छ। विशेषगरी तीव्र गति र लापरबाहीका कारण हुने दुर्घटना रोक्न निगरानी बढाइएको प्रहरीको भनाइ छ।
