टर्कीको आन्ताल्यामा सुरु भएको विश्व जलवायु सम्मेलन कोप-३१ को पहिलो दिन सार्वजनिक भएको विश्व मौसम संगठनको नयाँ वैज्ञानिक प्रतिवेदनले नेपालको जलवायु मुद्दालाई बलियो आधार दिएको छ। प्रतिवेदनले पृथ्वीमा ताप जम्मा हुने गति पहिलेभन्दा तीव्र भएको चेतावनी दिएको छ।
प्रतिवेदन सार्वजनिक गर्दै संगठनकी महासचिव सेलेस्टे साउलोले नेपालमा भएका विनाशकारी हिम तथा चट्टान खस्ने घटना र त्यसपछिका आकस्मिक बाढीलाई विशेष रूपमा उल्लेख गरिन्। यस्ता घटनाबाट उच्च हिमाली समुदायले सामना गर्नुपर्ने जटिल जोखिम उजागर भएको उनले बताइन्।
प्रतिवेदनअनुसार सन् २०२६ अहिलेसम्मकै चार सर्वाधिक ताता वर्षमध्ये एक हुने लगभग निश्चित छ। जनवरीदेखि सेप्टेम्बरसम्म पृथ्वीको औसत तापक्रम औद्योगिक क्रान्तिअघिको तुलनामा १.४७ डिग्री सेल्सियस बढी मापन भएको छ। सन् २०२४ मा यो वृद्धि १.५५ डिग्री सेल्सियस पुगेको थियो, जुन अहिलेसम्मकै सर्वाधिक तातो वर्ष हो।
सन् २०२५ मा विश्वभरका हिमनदीले ४०० अर्ब टनभन्दा बढी बरफ गुमाएका थिए। लगातार चार वर्षदेखि अध्ययन गरिएका सबै १९ हिमनदीयुक्त क्षेत्रमा बरफको मात्रा घटिरहेको छ। हिमनदी पग्लँदा समुद्री सतह बढ्नुका साथै हिमतालसँग सम्बन्धित बाढीको जोखिम पनि बढ्छ।
वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा सन् १७५० तिर २७८ पिपिएम थियो, जुन सन् २०२५ मा बढेर ४२६.८ पिपिएम पुगेको छ। अर्थात् औद्योगिक क्रान्तियता यो मात्रा ५३ प्रतिशत बढेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकट नयाँ चरणमा प्रवेश गरेको बताए। उनले हरितगृह ग्यास उत्सर्जनमा सबभन्दा कम योगदान गर्ने देशहरू नै यसको सबभन्दा गम्भीर प्रभाव भोग्न बाध्य भएको उल्लेख गरे।
