नेपाल प्रिमियर लिगमा आज काठमाडौं गोर्खाज र कर्णाली याक्सबीचको खेलमा सबैको ध्यान अस्ट्रेलियाली ब्याटर डेभिड वार्नरमाथि छ। आइतबार राति काठमाडौं आइपुगेका वार्नरले आजै कर्णालीविरुद्धको खेलबाट प्रतियोगितामा डेब्यु गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरु हुने खेलमा गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटको हार बेहोरेको गोर्खाजका लागि वार्नरको आगमन ठूलो राहत बनेको छ। उक्त खेलमा गोर्खाजको ब्याटिङ कमजोर देखिएको थियो र टोली १९ दशमलव ३ ओभरमा ११५ रनमै समेटिएको थियो। त्यसैले आजको खेलमा वार्नरबाट आक्रामक ओपनिङको अपेक्षा गरिएको छ।
अर्कोतर्फ कर्णाली भने प्रतियोगितामा अपराजित छ। उसले पहिलो खेलमा जनकपुर र दोस्रो खेलमा विराटनगरलाई हराएर तालिकाको शीर्ष स्थान ओगटेको छ। तर कर्णालीका लागि अनुबन्धित दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलर भने अझै नेपाल आइपुगेका छैनन्। टोलीका अध्यक्ष गृहेन्द्र घिमिरेका अनुसार मिलर केही दिनमै काठमाडौं आइपुग्नेछन् र बाँकी सबै खेल खेल्नेछन्।
३९ वर्षीय वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटमा झन्डै १९ हजार रन बनाएका छन्। उनी सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप तथा सन् २०२१ को टी–२० विश्वकप जित्ने अस्ट्रेलियाली टोलीका सदस्य हुन्।
