नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १७४ रन बनायो। विराटनगरका लागि तीन ब्याटरले अर्धशतक बनाए। आन्द्रे रसेलले २९ बलमा पाँच छक्का र एक चौकाको मद्दतमा ५२ रन बनाए। इम्रान शेखले ४५ बलमा ५६ रन बनाए। उनले पाँच चौका र दुई छक्का प्रहार गरे।
ओपनर लोकेश बमले ४० बल खेलेर ५० रन पूरा गर्दै अर्धशतक पूरा गरे। उनको इनिङ्समा पाँच चौका र तीन छक्का समेटिएका थिए। ओपनर शेहान जयसूर्या भने तीन बल खेलेर एक रन बनाउँदा आउट भए। त्यसपछि इम्रान र लोकेशले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए।
जनकपुरले विराटनगरविरुद्ध ६ जना बलर प्रयोग गरेको थियो। अभिषेक तिवारीले दुई विकेट हात पार्दा मोइन अलीले एक विकेट लिए। अन्य कुनै पनि बलरले विकेट हात पार्न सकेनन्। अब जनकपुरले जवाफी ब्याटिङ गर्दै लक्ष्य पछ्याउनेछ।
