काठमाडौं — नेपाली कांग्रेसका नेता नैनसिंह महरले राज्यका प्रमुख संस्थाहरू कमजोर बन्दै गए राष्ट्रिय शक्ति नै खुम्चिने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले न्यायपालिकासहित राज्यका संस्थाहरूको स्वतन्त्रता र विश्वसनीयता जोगाउनु आजको प्रमुख आवश्यकता भएको बताए।
पछिल्ला दिनमा विशेष सेटिङबाट न्यायपालिकासहित केही प्रमुख संस्थाहरू विवादमा परेको भन्ने समाचारले गम्भीर प्रश्न उठाएको महरको भनाइ छ। यस्तो अवस्थामा राष्ट्रिय शक्ति पतनको जोखिमबारे गम्भीर बहस र सचेतना आवश्यक रहेको उनले बताए।
कांग्रेस कानुनी राज्य र विधिको शासनमा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै महरले न्यायपालिकाको स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताए। न्यायपालिकाको स्वतन्त्रतामाथि कुनै पनि किसिमको धावा स्वीकार्य नहुने उनको भनाइ छ।
कुनै व्यक्ति वा प्रवृत्तिको स्वार्थका लागि सिङ्गो न्यायपालिकालाई बदनाम गर्ने चलखेलले राष्ट्रिय शक्तिलाई कमजोर पार्दै अराजकता र षड्यन्त्रलाई बल पुग्ने उनले चेतावनी दिए। तर बाहिर आएका गम्भीर विषयलाई बेवास्ता गर्न नहुने भन्दै उनले निष्पक्ष छानबिन र आवश्यक कानुनी कारबाही अपरिहार्य रहेको बताए।
शक्तिशाली सरकार मात्र पर्याप्त नहुने उल्लेख गर्दै महरले सक्षम राज्यका लागि बलिया राष्ट्रिय संस्था आवश्यक रहेको बताए। सरकार परिवर्तन भइरहने प्रणालीमा राज्यका स्थायी संस्था सक्षम, स्वतन्त्र र जवाफदेही हुनुपर्ने उनको भनाइ छ।
देशको सफलता संस्थाहरूको क्षमता, आर्थिक उन्नति र सक्षम नागरिकमा निर्भर रहने उनले बताए। बलियो राज्यले मात्र समृद्ध समाज, सामाजिक न्याय र राष्ट्रिय एकता मजबुत बनाउने उनको विश्वास छ।
