काठमाडौं । सार्वजनिक खरिद प्रक्रियालाई विद्युतीय माध्यमबाट सम्पन्न गर्ने नयाँ प्रणाली सञ्चालनमा आएको छ । मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबू पुडासैनीले विद्युतीय खरिद प्रणाली (ईजीपी) को नयाँ संस्करणको उद्घाटन गर्दै यसलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन् ।
कार्यालयका सहसचिव रामप्रसाद आचार्यले नयाँ संस्करण पुरानो प्रणालीको तुलनामा धेरै सुरक्षित र भरपर्दो रहेको बताए । उनका अनुसार नयाँ प्रणालीले खरिद प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउनेछ भने सेवाग्राहीले सहज रूपमा सेवा पाउनेछन् ।
‘पुरानो प्रणालीभन्दा यो प्रणाली सुरक्षित र भरपर्दो छ,’ सहसचिव आचार्यले भने ।
विद्युतीय खरिद प्रणालीमार्फत सरकारी निकायहरूले बोलपत्र आह्वानदेखि छनोटसम्मका प्रक्रिया अनलाइनबाटै सम्पन्न गर्न सक्नेछन् । यसले कागजी झन्झट घटाउने र खरिद प्रक्रियामा लाग्ने समय बचत गर्ने अपेक्षा गरिएको छ ।
नयाँ संस्करण सञ्चालनमा आएसँगै सार्वजनिक खरिदसँग जोडिएका निकायहरूले अब यसै प्रणालीमार्फत आफ्ना खरिदसम्बन्धी काम अघि बढाउनुपर्नेछ । कार्यालयले प्रणालीको प्रयोगबारे सम्बन्धित निकायलाई आवश्यक जानकारी र सहयोग उपलब्ध गराउने जनाएको छ ।
