तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट डुबानमा पर्ने चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र काठमाडौंको थानी काली जोशी संयुक्त उपक्रमबीच ठेक्का सम्झौता सम्पन्न भइसकेको छ । सम्झौताबमोजिम चारवटै पुलको निर्माण २०८५ सालको वैशाखभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।
जलाशय निर्माणपछि पुराना पुल डुबानमा पर्ने भएकाले स्थानीयवासीको आवतजावतमा अवरोध नआओस् भन्ने उद्देश्यले उपयुक्त स्थानमा नयाँ पुल बनाउन लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । स्थानीयवासीसँगको परामर्शपछि छनोट गरिएका स्थानमा चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवामा पुल निर्माण हुनेछन् ।
ठेक्का रकम करबाहेक १६ करोड ९७ हजार ३८ रुपैयाँ रहेको छ । भण्डारीका अनुसार पुल निर्माणका लागि आवश्यक उपकरण तथा सामग्री आपूर्ति भइसकेको छ । पुल पुन:स्थापनाले डुबान क्षेत्रका बासिन्दाको दैनिक आवागमन सहज हुनुका साथै विभिन्न सेवा–सुविधामा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।
