काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सन् २०२७ मा हुने ५० ओभरको क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यो प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा हुनेछ ।छनोट प्लेअफमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ का अन्तिम चार टोलीसँगै च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली प्लेअफमा सहभागी हुनेछन् । यस चरणबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले २०२७ को विश्वकपको अन्तिम छनोट प्रतियोगितामा खेल्न पाउनेछन् । सो विश्वकप छनोट प्रतियोगिता दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुँदैछ ।प्लेअफ खेल्ने आठमध्ये छ टोलीको टुङ्गो लागिसकेको छ । लिग–२ बाट नेपाल, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) अन्तिम चारमा रहने निश्चित भइसकेको छ भने च्यालेन्ज लिग ‘बी’ बाट इटाली र युगान्डा तथा च्यालेन्ज लिग ‘ए’ बाट जर्सीले स्थान पक्का गरेका छन् । कुवेतको सम्भावना पनि बलियो भए पनि औपचारिक घोषणा बाँकी छ भने लिग–२ बाट ओमान र नामिबियामध्ये एक टोली आउनेछ ।यता, प्लेअफ नेपालमा आयोजना हुने भएपछि डिसेम्बर ९, ११ र १३ मा नेपाल ‘ए’ र भारत ‘ए’ बीच हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि परिवर्तन हुने भएको छ । क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको समन्वयमा शृङ्खलाको नयाँ तालिका सार्वजनिक गरिनेछ ।
विश्वकप छनोट प्लेअफ नेपालले पायो, डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा प्रतिस्पर्धा
