काठमाडौं — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) लाई ठूलो सम्मान दिएको छ। लिगको तेस्रो संस्करणका सबै खेलले अब लिस्ट ‘ए’ टी–२० को आधिकारिक दर्जा पाउने भएका छन्।
यो मान्यता पाएसँगै एनपीएलका खेलमा बनेका स्कोर, रेकर्ड र व्यक्तिगत उपलब्धिहरू अन्तर्राष्ट्रिय अभिलेखमै दर्ता हुनेछन्। नेपाली फ्रेन्चाइज क्रिकेटको इतिहासमा यो एउटा कोशेढुंगा मानिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसीबाट औपचारिक मान्यता प्राप्त भएको जानकारी यसअघि नै सार्वजनिक गरिसकेको थियो।
तेस्रो संस्करणको प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ। यस संस्करणमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डिआरएस) को प्रयोग गरिने भएको छ।
लिस्ट ‘ए’ दर्जाले एनपीएलको विश्वसनीयता र अन्तर्राष्ट्रिय आकर्षण झनै बढ्ने अपेक्षा गरिएको छ। विदेशी खेलाडी र प्रशिक्षकको सहभागितामा पनि यसले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
