न्युजिल्यान्ड रक्षा बलका प्रमुख एयर मार्शल टोनी डेभिसले शुक्रबार पदबाट राजीनामा दिएका छन्। उनले विगतमा लिएका निर्णयसम्बन्धी केही त्रुटिहरूको जिम्मेवारी लिँदै राजीनामा दिएको रक्षा बलले जनाएको छ।
रक्षा बलका अनुसार डेभिसले रक्षामन्त्री पल गोल्डस्मिथलाई राजीनामाबारे जानकारी गराएका थिए। डेभिसले आफ्ना त्रुटि रक्षा बलका मूल्य र मान्यताविपरीत रहेको स्वीकार गरेका छन्। उनी एक सैन्य इकाइको कमान्डमा रहँदा ‘अनुचित सम्बन्ध’ राखेको र त्यसबारे जानकारी गराउने अवसर हुँदाहुँदै खुलासा नगरेको आरोप छ।
डेभिसले समयमै जानकारी नदिएकोमा पछुतो लागेको बताएका छन्। रक्षामन्त्री गोल्डस्मिथले डेभिसको पदमा निरन्तरता अब सम्भव नरहेको बताएका छन्। उनले विषय इमानदारी र आचरणसँग जोडिएको तथा त्यसबारे पहिले जानकारी नदिइएको उल्लेख गरेका छन्। गोल्डस्मिथले डेभिसको राजीनामा स्वीकृत गर्न गभर्नर जनरलसमक्ष सिफारिस गर्ने भएका छन्। डेभिसपछि रक्षा बलका उपप्रमुख म्याट विलियम्सले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने छन्। डेभिस सन् १९८४ मा न्युजिल्यान्डको सेनामा प्रवेश गरेका थिए र सन् २०२४ मा रक्षा बलको सर्वोच्च पदमा नियुक्त भएका थिए।
