बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापा पछिल्ला तीन वर्षदेखि फूलखेतीमा रमाइरहेकी छन् । पहिले प्लास्टिक टनेलमा व्यावसायिक तरकारीखेती गर्दै आएकी थापाले फूलखेतीबाट तरकारीभन्दा बढी आम्दानी हुने देखेपछि पेसा फेरेकी हुन् ।
नजिकै रहेको बागलुङ कालिका मन्दिरमा फूलको माग बढ्दै गएपछि उनले तरकारी छाडेर फूल उत्पादन सुरु गरेकी हुन् । भाडामा लिएको दुई रोपनी जग्गामा तीनवटा प्लास्टिक टनेल निर्माण गरेर उनले मौसमी तथा बेमौसमी फूल उत्पादन गर्दै आएकी छन् ।
तरकारीखेतीमा विषादी प्रयोग गर्नुपर्ने भएकाले पनि आफू फूलखेतीमा लागेको थापाको भनाइ छ । ‘तीन वर्ष भयो, फूलखेतीबाट घरखर्च राम्रै चलेको छ,’ उनले भनिन्, ‘वार्षिक दुई लाख ५० हजारदेखि तीन लाखसम्म आम्दानी हुन्छ ।’
उनका अनुसार बेमौसममा उत्पादित फूल प्रतिकिलो ४०० रुपैयाँसम्म र मौसमी फूल प्रतिकिलो २०० रुपैयाँसम्म बिक्री हुने गरेको छ । प्लास्टिक टनेलभित्र खेती गर्दा बेमौसममा पनि फूल उत्पादन गर्न सकिने उनको अनुभव छ ।
बागलुङमा व्यावसायिक फूलखेती गर्ने किसानको संख्या कम रहेकाले उत्पादित फूलको बजार खोज्न समस्या नभएको थापाको भनाइ छ । उनले टनेलमा उत्पादन गरेको सयपत्री फूल मन्दिरमा आउने भक्तजनलाई बिक्री गर्दै आएकी छन् । हाल उनी तिहारलाई लक्षित गरी सयपत्री फूल बिक्री गर्ने तयारीमा छिन् । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि मन्दिरमा आउने भक्तजनलाई सहज भएको छ ।
