तिहार मिठाई र परिकारको चाड हो। सेलरोटी, अनरसा, फिनी, लड्डु र रसबरीदेखि चकलेटसम्मले पर्वको रौनक बढाउँछ। भाइटीकामा मिठाई खुवाउने र पाहुनालाई मिठाईले स्वागत गर्ने चलन छ।
तर एक–दुई दिन मिठाई खाँदैमा गम्भीर रोग लागिहाल्ने होइन। समस्या तब सुरु हुन्छ, जब अत्यधिक चिनी र क्यालोरी खाने बानी बन्छ। लामो समयसम्म यस्तो बानी रहँदा मोटोपन, टाइप–२ मधुमेह, मुटुरोग, कलेजोमा बोसो जम्ने र दाँत बिग्रने जोखिम बढ्न सक्छ।
धेरै गुलियो खाँदा अतिरिक्त ऊर्जा बोसोका रूपमा जम्मा हुन्छ, जसले तौल बढाउँछ। सन् २०२३ मा ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित समीक्षाले बढी चिनी सेवन र टाइप–२ मधुमेहबीच सम्बन्ध देखाएको थियो। गुलियो पेय पदार्थ र फ्रुक्टोजको बढी सेवनले कलेजोमा बोसो जम्ने जोखिम पनि बढाउँछ। मुखका ब्याक्टेरियाले चिनीबाट अम्ल बनाउँछन्, जसले दाँतको इनामेल कमजोर बनाउँछ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२५ अगस्टको तथ्यपत्रअनुसार विश्वभर करिब दुई अर्ब ५० करोड मानिस दाँतमा कीरा लाग्ने समस्याबाट प्रभावित छन्।
दैनिक कति चिनी खानु उचित? विश्व स्वास्थ्य संगठनले कुल ऊर्जाको १० प्रतिशतभन्दा कम हिस्सा चिनीबाट लिन सुझाव दिएको छ, अझ राम्रोका लागि ५ प्रतिशत वा कम। दैनिक दुई हजार क्यालोरी चाहिने व्यक्तिका लागि १० प्रतिशत भनेको करिब ५० ग्राम र ५ प्रतिशत भनेको २५ ग्राम हो। अमेरिकन हार्ट एसोसिएसनले महिलालाई दैनिक २५ ग्राम र पुरुषलाई ३६ ग्रामभन्दा बढी थपिएको चिनी नखान सिफारिस गरेको छ।
तिहारमा मिठाईको मात्रा नियन्त्रण गर्नु, गुलियो पेय पदार्थको सट्टा सादा पानी रोज्नु र मिठाईको विकल्पमा सिंगो फलफूल खानु उपयोगी हुन्छ। तारेका परिकार कम खाने र खाना खाएपछि हल्का हिँड्ने बानीले पनि असर कम गर्छ। मिठाई खाएपछि मुख कुल्ला गर्ने र दिनमा दुई पटक दाँत माझ्नु उत्तिकै आवश्यक छ। मधुमेह वा अन्य दीर्घरोग भएका व्यक्तिले चिकित्सकको सल्लाह अनुसार नै खानपान मिलाउनुपर्छ।
