धनगढी — तिहार मनाउन भारतबाट घर फर्किने नेपालीहरूको भीडले कैलालीको गौरीफन्टा नाकामा घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। भारतीय पक्षको सुरक्षा जाँचमा लाग्ने लामो समयले फर्किनेहरूलाई थकाइ र भोकसँगै सास्ती खेप्न बाध्य बनाएको छ।
धनगढी उपमहानगरपालिका–७ देवहरियाका नरेन्द्रनारायण मगर शुक्रबार बिहान ८ बजे नाकामा आइपुगेका थिए। मुम्बईबाट तिहार मनाउन घर फर्किरहेका उनी दिउँसो १ बज्नै लाग्दासम्म पनि जाँचकै लाइनमा थिए। झन्डै पाँच घण्टा कुरेर भारतीय सुरक्षाकर्मीको जाँच सकेपछि उनी नेपालतर्फको जाँचको पालो पर्खिरहेका थिए। भोकभोकै झोलाझिम्टासहित लाइनमा उभिनुपरेको भन्दै उनले सरकारसँग नाकालाई व्यवस्थित बनाइदिन र सहजै घर फर्किने वातावरण मिलाइदिन माग गरे।
तीन दिनको यात्रा पार गरेर शुक्रबार बिहान मात्र पुनाबाट नाका आइपुगेकी पवित्रा घर्तीले पनि त्यस्तै सास्ती भोग्नुपरेको बताइन्। नेपालतर्फ खासै समस्या नभए पनि भारततर्फको जाँचमा २–३ घण्टा बितेको उनको भनाइ छ।
फर्किनेहरूले सास्ती खेपेको सूचना पाएपछि शुक्रबार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा नेतृत्वको टोली नाका पुगेको थियो। टोलीले भारतीय सीमा सुरक्षा बलका प्रमुख विवेक यादव र भारतीय कस्टम प्रमुख अमर उपाध्यायसँग भेटेर सहजीकरण गर्न आग्रह गर्यो। भारतीय पक्षले एउटा मात्र एक्सरे मेसिन हुनु र एकै व्यक्तिका धेरै झोला जाँच्नुपर्ने भएकाले ढिलाइ भइरहेको बताएको छ।
संघका अनुसार सीमा क्षेत्रमा शौचालयको अभाव पनि देखिएको छ र संघले चाँडै शौचालय बनाइदिने भएको छ। टोलीमा वरिष्ठ उपाध्यक्ष केशवराज जोशी र सचिव प्रकाशबहादुर चन्द पनि सहभागी थिए। बिहीबार र शुक्रबार भारतबाट फर्किने नेपालीको चाप बढी देखिएको छ।
