बलिउडमा कलाकारलाई धम्की दिने घटनाक्रम रोकिएको छैन। अभिनेता तुषार कपूरलाई फिरौतीको धम्की आएको खबर सार्वजनिक भएको एक दिन पनि नबित्दै अभिनेता आयुष्मान खुरानालाई पनि यस्तै धम्की आएको छ। आफूलाई कुख्यात लरेन्स बिश्नोई गिरोहको सदस्य बताउने एक व्यक्तिले आयुष्मानलाई धम्कीपूर्ण अडियो सन्देश पठाएर करोडौँ रुपैयाँ फिरौती मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ। अडियो पठाउने व्यक्तिको पहिचान खुल्न बाँकी छ भने उक्त अडियो वास्तवमै गिरोहसँग सम्बन्धित व्यक्तिको हो वा गिरोहको नाम प्रयोग गरेर डर देखाउने प्रयास मात्रै हो भन्ने पनि पुष्टि भएको छैन।
यसअघि तुषार कपूरलाई आफूलाई गिरोहका सदस्य हैरी बक्सर बताउने व्यक्तिले फोन गरेर पाँच करोड रुपैयाँ फिरौती मागेको थियो। प्रहरीको प्रारम्भिक जाँचमा फोनमा सुनिएको आवाज हैरी बक्सरको नमुनासँग नमिलेको बताइएको छ।
गत अक्टोबर १८ मा अभिनेता टाइगर श्रफको गाडीमाथि मुम्बईको जुहुमा गोली प्रहार भएको थियो। उक्त घटनामा टाइगर सुरक्षित रहे पनि उनका चालक र एक सर्वसाधारण घाइते भएका थिए। त्यस्तै, अभिनेता अमिताभ बच्चनको जुहुस्थित घरलाई बमले उडाइदिने धम्की आएपछि त्यहाँ सुरक्षा कडा पारिएको थियो भने गायक दिलजित दोसाँझका मुम्बई र इन्दौरका कार्यक्रमलाई लक्षित गरेर पनि धम्की आएको थियो।
लगातारका यस्ता घटनाले बलिउड कलाकारको सुरक्षाबारे चिन्ता बढाएको छ। तर, धम्की दिने व्यक्तिले चर्चित गिरोहको नाम लिएकै आधारमा उक्त गिरोह घटनामा संलग्न छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने प्रहरीको भनाइ छ। आयुष्मानको घटनामा पनि अनुसन्धानकै नतिजाले वास्तविकता खुलाउने अपेक्षा गरिएको छ।
