दक्षिण अफ्रिकाका दुई सहरमा दूषित पानी प्रयोगका कारण ५०० भन्दा बढी व्यक्ति बिरामी परेका छन्। बिरामी पर्नेमा अधिकांश चार वर्षभन्दा कम उमेरका बालबालिका रहेका छन्। अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित पानी मात्र प्रयोग गर्न अनुरोध गरेका छन्।
राजधानी प्रिटोरियाको पूर्वी भागमा ४०८ जना बिरामी परेपछि धाराको पानी नपिउन चेतावनी जारी गरिएको थियो। पानी प्रशोधन केन्द्रमा करिब तीन हप्तासम्म क्लोरिन हालिएको थिएन, जसका कारण पानी असुरक्षित बनेको अधिकारीहरूको भनाइ छ। नियमित आपूर्तिकर्ताले क्लोरिन उपलब्ध नगराएकाले यस्तो भएको नगरपालिकाले जनाएको छ।
ब्रोन्खोस्र्टस्प्रुट नदीको माथिल्लो क्षेत्रमा फोहोर पानी प्रशोधन प्रक्रिया प्रभावकारी नभएकाले नदी प्रदूषित बनेको पनि अधिकारीहरूले बताएका छन्। पानीको गुणस्तरबारे समयमा जानकारी नगरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटना सार्वजनिक भएपछि विभिन्न राजनीतिक दलले मेयर नासिफी मोयाको राजीनामा र जिम्मेवार अधिकारीमाथि कारबाहीको माग गरेका छन्।
यसैगरी पूर्वी केप प्रान्तको ग्केबेरामा रहेको रोड्स विश्वविद्यालयका कम्तीमा १११ जना विद्यार्थी पेट दुख्ने र पखाला लाग्नेजस्ता समस्याबाट बिरामी परेका छन्। पानीको गुणस्तर खराब भएकाले प्रकोप फैलिएको हुन सक्ने आशंकामा विश्वविद्यालयले अनुसन्धान गरिरहेको छ। गम्भीर अवस्थाका विद्यार्थी उपचारपछि क्याम्पस फर्किसकेका छन्।
विश्वविद्यालयले विद्यार्थी तथा कर्मचारीलाई पानी उमालेर चिस्याएपछि वा बोतलको पानी मात्र पिउन, खाना पकाउँदा र दाँत माझ्दा पनि सुरक्षित पानी नै प्रयोग गर्न आग्रह गरेको छ। साबुनपानीले नियमित रूपमा हात धुन पनि सुझाव दिइएको छ।
